2019-05-03

कियाचु केन्द्र आत्मनिर्भर अक्षय कोष अभियानको शुरुवात

२०७६ वैशाख ६ गते, ललितपुर । किरात याक्थुङ चुम्लुङको आज सम्पन्न सचिवालयको बैठकमा केन्द्रीय कोषाध्यक्ष डम्बर कुमार तेम्बेले कियाचु केन्द्र आत्मनिर्भर अक्षय कोषमा रु १ लाख १ हजार प्रदान गरी अभियानको शुरुवात गर्दै कोषको प्रथम चुम्लुङ उत्कृष्ट सहयोगदाता हुनुभएको छ ।

वहाँको योगदान एवम् प्रतिबद्धताप्रति संस्थाले हार्दिक धन्यवाद दिएको छ । कियाचुको केन्द्रीय अक्षय कोषलाई रु १ करोड पुरयाउने लक्ष्य राखी गत फागुनदेखि संस्था ३० वर्ष पुगेको सन्दर्भमा यो कियाचु केन्द्र आत्मनिर्भर अक्षय कोष संकलन अभियान थालिएको हो । यस अघि एक भेटघाट समारोहमा कियाचुका भूतपूर्व केन्द्रीय सदस्य तथा अमेरिका चुम्लुङको सल्लाहकार विनोद पोमूबाट पनि यस कोषको लागि रु १५ हजार प्रदान गर्नुभएको छ । यो अभियानलाई नेपाल लगायत विभिन्न विदेश चुम्लुङहरुमा कार्यान्वयनको लागि विशेष पहल भइरहेको छ ।

यो अभियानको अपील पत्र यस प्रकार रहेको छ ।

कियाचु केन्द्रको ‘आत्म–निर्भर अक्षय कोष’ निर्माणमा सहभागि बनौँ

कियाचु केन्द्रको ‘आत्म–निर्भर अक्षय कोष संकलन अभियान २०७५ अपील

अभियानको आवश्यकता

किरात याक्थुङ चुम्लुङ यस वर्षदेखि ३० औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कियाचुले संस्थागत विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको छं । जिल्ला—जिल्लामा चुम्लुङ भवनहरु बनाई आ–आफ्नो कार्यालय स्थापना गरी संस्थागतरुपमा विविध क्रियालापहरु संचालन गर्नसकेको अवस्था छ । त्यसैगरी कियाचु केन्द्रसँग सदस्यता शुल्कबाट हालसम्म संकलित ३६ लाख रुपैयाँको अक्षय कोष हुनु र सोबाट आउने ब्याजले दैनिक कार्यालय व्यवस्थापन तथा सामान्य कार्यक्रमहरु सञ्चालन गर्न सकेको अवस्था छ ।

दैनिक खर्चहरुको व्यवस्थापन गर्नका लागि अक्षय कोष एक श्रोत भएता पनि संस्थागत विकासका अन्य महत्वपूर्ण गतिविधिहरु संचालन गर्नका निमित्त हालसम्म आप्mनो कुनै वैकल्पिक श्रोत वा कोषको व्यवस्था गर्न सकिएको छैन् । नेतृत्व, शीप, दक्षता विकासलाई समयानुकुल प्रबद्र्धन गर्दै आर्थिक, सामाजिक तथा साँस्कृतिक अभियानहरु, हक अधिकार सम्बन्धी जनचेतनामूलक क्रियाकलापहरु निरन्तररुपमा संचालन गर्न सक्नु आजको आवश्यकता हो । त्यसैगरी मानव संसाधनको विकास र परिचालन गर्दै राज्यको नीतिहरुमा प्रभाव पार्ने नीतिगत प्रशिक्षण, अधिकारमुखी प्रशिक्षण, जनपैरवी, लबीङको पनि उत्तिकै जरुरी छ । साथै समसामयिक सवालहरुमा बृहत बहसकासाथै परामर्श बैठकहरु, मुद्दाहरुको अध्ययन र अनुसन्धान लगायत दस्तावेजिकरण गर्ने जस्ता सृजनात्मक गतिविधिहरु नियमितरुपमा गरिरहनुपर्नेछ । एकातिर यी उल्लेखित गतिविधिहरु संस्थामा आवद्ध सदस्यहरु, अभियन्ता, विज्ञ, शुभचिन्तक, युवा र विद्यार्थीहरुलाई परिचालन गरी वर्तमान नेपालको नयाँ राज्य संरचना अनुरुप प्रदेश हुदै नगरपालिका र गाउँपालिका तहसम्मै पुग्ने पुरयाउने अपेक्षा राखिएको छ भने अर्कातिर यस अपेक्षालाई मुर्तरुप दिनका लागि दिगो आर्थिक श्रोतको जोहो गर्नु आजको आवश्यकता भएकोछ । तसर्थ कियाचु ३० औं वर्ष पुगेको सन्दर्भमा संस्थालाई एक दीगो, सक्षम र स्वावलम्वी संस्थाको रुपमा स्थापित गराउन दशौ महाधिवेशनको म्यानडेट र ‘तीन बर्षे नीति तथा कार्यक्रम (२०७४–२०७७)’ अनुसार यो आत्मनिर्भर अक्षय कोष स्थापनार्थ विशेष अर्थ संकलन अभियान अगाडी सारिएको छ ।

यो चरणको अभियानबाट एक करोड रुपीयाँको अक्षय कोष खडा गर्ने लक्ष्य राखिएको छ । यो अक्षय कोषबाट प्राप्त ब्याज आम्दानीबाट माथि उल्लेखित रचनात्मक एवम् अभियानमुलक गतिविधिहरु सञ्चालन गरिनेछ । आत्मनिर्भर अक्षय कोष संकलन अभियान यो अभियानको लागि कियाचु केन्द्रको अध्यक्षको संयोजकत्वमा एक विशेष समिति गठन गरी परिचालन गरिने छ । देश भित्र र विदेशमा अभियानलाई सफलतापूर्वक समन्वय र पारदर्शिरुपमा संचालन गर्न उक्त समितिका सदस्यहरुलाई विशेष जिम्मेवारी प्रदान गरिने छ । अभियान मार्फत सबै शुभेच्छुकहरुबाट रकम संकलन गरिनेछ । नेरु १,००,००० प्रदान गर्नेलाई चुम्लुङ उत्कृष्ट सहयोग दाता सम्मान पत्र र नेरु ५,००,००० प्रदान गर्नेलाई चुम्लुङ गौरवशाली सहयोग दाता सम्मान पत्र व्यवस्था गरिनेछ । सहयोग दाता मध्ये लिम्बुको हकमा संस्थाको विशिष्ट संरक्षक सदस्य र गैर लिम्बुको हकमा मानार्थ सदस्यता प्रदान गरिनेछ । अभियानको क्रममा स्मृति कोषको रुपमा आफनो परिवारजनको नाममा नेरु १ (एक) लाख भन्दा बढीको स्मृति कोष खडा गरी सहभागी गराउन सकिनेछ । यसको लागि नियम र सम्झौता दुवै पक्षको सहमतिमा तयार गरी कार्यान्वयन गर्न सकिनेछ ।

विदेश चुम्लुङ ः यो अभियानमा विदेश चुम्लुङहरुको सक्रियता तथा सहभागिताको विशेष आशा राखिएको छ । प्रत्येक विदेश चुम्लुङवाट प्राप्त सहयोगलाई पारदर्शीरुपमा यस अक्षय कोषको अभिलेखमा सुचिकरण गरिनेछ, प्रमाण पत्रहरु दिइनेछ । यो अभियानको बारेमा तान्छोप्पा पत्रिकामा नियमितरुपमा परिशिष्टांक छाप्ने जसमा, र चुम्लुङ वेभसाइट सबै गतिविधिहरु अद्यावधिक गरिनेछ । अन्तमा एक स्मामिरका प्रकाशन गरिनेछ । जसमा सबै दाताहरुको रकम सहितको विवरण, गतिविधिहरु र उपलब्धीहरु समेटिएको हुनेछ । तत्कालका लागि यो केन्द्रीय आत्मनिर्भर अक्षय कोष निर्माणका लागि चलाइएको अभियान भएता पनि भविष्यमा प्रदेश, जिल्ला वा स्थानीय तहहरुमा समेत यस प्रकारको कोष स्थापना गर्नका लागि अभियान चलाउन सबैलाई अभिप्रेरित गरिनेछ । वार्षिक योजना तर्जुमा बैठक ः कोषको आम्दानीबाट बजेट तथा कार्यक्रम बनाउनको लागि वार्षिकरुपमा योजना तर्जुमा बैठक आयोजना गरिनेछ । बैठकमा मुख्य दाताहरु, विज्ञहरु, सरोकारवालाहरुको सहभागिता सुनिश्चित गरिनेछ ।

रकम जम्मा र पारदर्शिता ः (क) नेपाल बैंक लिमिटेडमा रहेको खाताको नाम किरात याक्थुङ चुम्लुङ बचत खाता नं. ०३४००१०००७३९८८०००००१ वा (ख) गोर्खा फाइनान्स लिमिटेडमा रहेको खाताको नाम किरात याक्थुङ चुम्लुङ बचत खाता नं. १०१००११००६३५८५२४ जम्मा गर्न सकिनेछ । प्राप्त हुन आएको सहयोग रकमको अध्यावधिक स्थिति त्रैमासिक रुपमा विभिन्न माध्यमवाट सार्वजनिक गरिनुका साथै कियाचु केन्द्रको प्रत्येक वैठकहरुमा यसलाई एजेण्डाकोरुपमा राखी पारदर्शिता बनाइनेछ ।

देश र विदेशमा रहनुभएका लिम्बु लगायत अन्य शुभेच्छुक सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुले विगत देखि हालसम्म कियाचुको संस्थागत विकासका निम्ति गर्दै आउनु भएको आर्थिक तथा भौतिक सहयोग र योगदानको उच्च मूल्याँकन गर्दै यसपटक पनि यो ‘आत्म–निर्भर अक्षय कोष’ निर्माणमा यहाँहरुवाट आवश्यक सहयोग हुनेछ भन्ने विश्वासका साथ थप सहयोगका लागि हार्दिक अपील गरिएको छ । यहाँहरुको साथ र सहयोगवाट कियाचुलाई दिगो र लिम्वूहरुको सामाजिक, साँस्कृतिक तथा वौद्धिक विकासको एक साझा मञ्चको रुपमा स्थापित गर्दै भावी सन्ततिका लागि लिम्वूजन्य मुर्त तथा अमुर्त सम्पत्तिहरुको संरक्षण गर्न आवश्यक भएको छ र यो आज तपाई हाम्रो मूल कर्तव्य पनि हो ।

किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालय, नेपाल

वि.सं. २०७५