2019-12-19

मिति २०७६।०८।२५ गते शुभकामना विज्ञप्ति ‘चासोक तङनाम २०७६’

मिति २०७६।०८।२५ गते

शुभकामना विज्ञप्ति

प्रत्येक वर्षहरुमा झै हर्षोल्लास लिएर आदिवासी लिम्बुहरुको महान राष्ट्रिय चासोक चाड ‘चासोक तङनाम २०७६’ हाम्रो घरदैलोमा आइपुगेको छ । यसलाई नेपालका आदिवासी राई समुदायले साकेला उभौली, याक्खाले चासुवा, सुनुवारले फोलष्यादर, थामीले भुमे पुजा भनी मनाउने गर्दछन् जसलाई समग्रमा किरात चाड समेत भन्दछौं । यो शुभोपलक्ष्यमा देश विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा ‘लुङमेन्दीङ’ शुभकामना व्यक्त गर्दछौं ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माण पश्चात् भाषिक, सांस्कृतिक, सामाजिक आर्थिक विकास, हकअधिकारको क्षेत्रमा संस्थागत भएका प्रावधानहरुलाई अभ्यास र उपभोग गर्नका निमित्त संघ, प्रदेश र स्थानीय सरकारलाई सो अनुकुलको नीति, कानुन, प्रणाली, योजना, व्यवहार लगायतहरुको व्यवस्था गराई सचेतता पुर्वक लाग्नुपर्नेछ । त्यसैगरी प्राप्त गर्नुपर्ने पहिचान सहितको संघीयताको लागि ठोस विश्लेषण र योजना बनाई एकताबद्ध भएर अघि बढ्नुपर्नेछ । यसको लागि हामी बीच देखापरेको सांस्कृतिक चेतलाई राजनीतिक चेतमा परिणत गर्न विशेषतः गाउँ गाउँमा चेतनामुलक प्रशिक्षण र अभियानहरु लानु अत्यन्त जरुरी छ ।

यस क्षणमा पुर्वज र प्रकृतिलाई जोड्दै, सुख र समृद्धिको आशिर्बाद बोकेर आएका यी चाडहरुले हामी सबैलाई उच्च मनोबल, हौसला र प्ररेणा प्रदान गरुन्, सबैमा एकता र सदभाव छाई रुहुन् भन्दै सबैमा समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै पुनः शुभकामना व्यक्त गर्दछौं । योगराज लिम्बू वनेम अध्यक्ष, केन्द्रीय कार्य समिति