चुम्लुङहिम ललितपुरमा लिम्बुवानको विशेष बैठक हुँदै: लिम्बुवान राज्यको लागि निर्णायक आन्दोलनको तय हुने
चुम्लुङहिम ललितपुर, नेवा: काठमाडौँ अप्रिल २३, २०१२/
संघीयता कार्यान्वयनका लिम्बुवान संघर्ष समितिले प्रधानमन्त्रीलगायत निर्णायक दलका प्रमुख नेताहरुलाई लिम्बुवान सुनिश्चितताका लागि ज्ञापनपत्र दिएपछि थप निर्णायक आन्दोलनको तय गर्न आज बैशाख ११ गते बिहानैदेखि चुम्लुङहिम ललितपुरमा लिम्बुवान संघर्ष समितिको विशेष बैठक सुरुभएको छ |
लिम्बुवान संघर्ष समितिका पदाधिकारीहरू संयोजक बिजय सुब्बा, सहसंयोजक, सचिवहरू नन्द कन्दङवा, खगेन्द्र माखिम, प्रवीण नेम्बाङ तथा सचिवालय सदस्यहरू, केन्द्रीय कार्य समिति सदस्यहरू, सबै राजनीतिक दलका नेतृत्व, सभासद, स्वतन्त्र बुद्धिजीबी र किरात याक्थुङ चुम्लुङका केन्द्रीय पदाधिकारीहरुको समुपस्थितिमा यो बैठक भइरहेको हो |
बैठकमा, लिम्बुवान संघर्ष समितिको अवधारणा प्रस्तुती, छलफल र लिम्बुवान संघर्ष समितिले अब लिनुपर्ने रणनीति तथा आन्दोलनको खाका तय गर्ने कार्यक्रम रहेको छ | यस संघर्ष समितिले लिम्बुवानभर आमसभा, राँके जुलुस गर्दै लिम्बुवानको लागि दवाब दिने र लिम्बुवाबिनाको संबिधान ल्याउने षडयन्त्र भए अनिश्चित आमहड्ताल गरी लिम्बुवानको आफनै संबिधान जारी गरेर राज्य संचालन गर्नेसम्मको आन्दोलन तय हुनेछ |
यो बैठकमा माननीय अर्थ राज्य मन्त्रि हरिराज खेवा, पूर्व मन्त्रि पूर्णकुमार शेर्माले आफ्नो बुझाई र रणनीतिक धारणाहरु राख्नुभयो | त्यसपछि सभासद्हरू मा. पाशाङ शेर्पा, मा. पदमलाल विश्वकर्मा, मा. डम्बर सम्बाहाङफे, मा. ध्रुव आङदेम्बे, मा. विश्वदीप लिङदेन, मा. लीला सुब्बा, मा. तुलसी सुब्बा, मा. डम्बरधोज तुम्बाहाङफे र मा. सीता गुरुङले आफ्नो बुझाई र सुझाबहरू राख्नेक्रम चलिरहेको छ |
यो लिम्बुवान संघर्ष समितिको बिशेष बैठकले आज अबेरसम्ममा लिम्बुवानको आगामी आन्दोलनको खाका तय गरी भोलि बैशाख १२ गते काठमाडौँको रिपोर्टर्स क्लबमा बिएशेष पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछ |
डीबी आङबुङ लिम्बू