2019-10-14

मिति २०७६ श्रावण ३१–३२ किरात याक्थुङ चुम्लुङ (कियाचु) को चौथो केन्द्रीय बैठक र २४ औ साधारण सभा समसामयिक प्रस्तावहरु

मिति २०७६ श्रावण ३१–३२ किरात याक्थुङ चुम्लुङ (कियाचु) को चौथो केन्द्रीय बैठक र २४ औ साधारण सभा समसामयिक प्रस्तावहरु

1 संबिधान संसोधन गरी अरुण पुर्बका नौ जिल्लालाई लिम्बूवान प्रदेश निर्माण गर्न गराउन नेपाल सरकारमा जोडदार माग गर्दछ ।

2 लिम्बुवान प्रदेश निर्माण गर्न सम्पूर्ण लिम्बुवानवासी एकबद्ध भई सकृय हुन यो बैठक सबैमा हार्दिक अपिल गर्दछ ।

3 लिम्बुवानको पान्थर जिल्लाको याङवारक तथा ताप्लेजोङ जिल्लाको सिदिङ्वा गाउँपालिकाको सिमानामा पर्ने आदिवासी लिम्बू समुदायको मुन्धुममा वर्णित तिम्बुङ वरक (पोखरी)मा नेपाल सरकार र सिदिङ्वा गाउँपालिकाको लगानीमा पोखरी क्षेत्र भित्र भौतिक संरचना निर्माण गरिएको प्रति बैठक घोर भत्र्सना गर्दछ । आदिवासी लिम्बू समुदायसँग पूर्व सुसूचित स्वीकृति नलिई निर्माण गरिएको उक्त भौतिक संरचनाले पोखरीको मौलिकता, प्राकृतिक वातावरण, पर्यावरण र सौन्दर्यतालाई असर पुर्याउनका साथै आदिवासी लिम्बू समुदायको सांस्कृतिक पवित्र स्थललाई अतिक्रमण गरेको ठहर गर्दै अविलम्ब उक्त भौतिक संरचना हटाउन र आगामी दिनमा समेत त्यस्ता संरचना निर्माण नगर्न सम्बन्धित पक्षहरुलाई यो बैठक माग गर्दछ ।

4 लोकसेवा आयोगले आदिवासी जनजाति, दलित÷शिल्पि, महिला, मधेशी, मुश्लिम, अपाङ्ग र पिछडीएका क्षेत्रहरुको विद्यमान समानुपातिक समावेशी आरक्षण कोटा घटाउने नियतले जालझेल गरी गत जेष्ठ १५ गते विज्ञापन प्रकाशित गरी कार्य अगाडी बढाएकोमा यो बैठक कडा विरोध गर्दछ । यो विज्ञापन खारेज गर्न, सच्याउन र समानुपातिक समावेशी आरक्षणको कोटाको ग्यारेन्टी गर्न यो बैठक माग गर्दछ । आरक्षण बचाउ आन्दोलनमाथि सरकारी दमनको घोर भतर््सना गर्दै सम्पूर्ण आन्दोलनकारीहरु सक्रिय सहभागी हुन अपिल गर्दछ ।

5 आन्दोलनद्वारा स्थापित आदिवासी जनजातिहरुको राष्ट्रिय विदा कटौती गरेकोमा विरोध गर्दै यथावत कायम गर्न यो बैठक जोडदार माग गर्दछ ।

6 लिम्बुवानको इलाम जिल्लाको इलाम नगर पालिका वडा नं. ४ मलातेमा रहेको आदिवासी लिम्बू समाधिस्थल मासेर वडा कार्यालय, स्वास्थ्य कार्यालय र खेल मैदान निर्माण गर्न खोजिएको, सोही जिल्लाको देउमाई नगरपालिका वडा नं ५ भञ्ज्याङमा रहेको समाधिस्थलमा डम्पिङ साइट बनाई फोहर थोपर्न थालिएको र झापा जिल्लाको सिवसतासी, डुडामाडी धरमपुरमा रहेको आदिवासी लिम्बू समाधिस्थललाई असुरक्षित बनाई सिमसार पर्यटन क्षेत्र बिकास गर्न लागिएको प्रति घोर भत्र्सना गर्दै उक्त कार्यहरु अविलम्ब रोक्न सम्बन्धित पक्षलाई यो बैठक जोडदार माग गर्दछ ।

7 आदिवासी लिम्बूको भूमि राज्यले सामुदायिक वन, कबुलयती वन, धार्मिक वन, कन्चनजंगा संरक्षण क्षेत्रको नाममा थप भुमि खोस्ने क्रम जारी छ । यस्तो कार्य अविलम्ब राज्यले बन्द गरी उक्त भूमि आदिवासी लिम्बूको अधिकार क्षेत्र भित्र राख्न यो बैठक जोडदार माग गर्दछ ।

8 नेपाल सरकारले डब्ल्यू डब्ल्यू एफको सहयोगमा तिनजुरे मिल्के जलजले (टिएमजे) करिडर निर्माण तथा वन एवम् वन्य जन्तु संरक्षणको नाममा कयौं आदिवासी लिम्बूहरुको भूमि किपट जमिन नियतबस खोस्ने कार्य गरेको प्रति कडा विरोध गर्दै, आदिवासी लिम्बूहरुको भूमि कुनै बहानामा अतिक्रमण नगर्न यो बैठक माग गर्दछ ।

9 लिम्बुवानका सरकारी निकाय, गैर सरकारी संस्था, विद्यालय, स्थानीय निकायहरुको नाम आदिवासी लिम्बूहरुको भाषाबाट राख्न र किरात सिरिजंगा लिपिमा समेत लेख्न लेखाउन यो बैठक जोडदार माग गर्दछ ।

10 लिम्बू भाषामा स्थापीत एवम् प्रचलित नामहरु अपभ्रंस गर्ने, नयाँ स्थान नाम दिदा खस नेपाली भाषाबाट राख्ने कार्य अविलम्ब बन्द गर्न र अपभ्रंश भएका नामलाई लिम्बू भाषामा पुनस्र्थापित गर्न एवम् नयाँ स्थान नाम राख्दा लिम्बू भाषाबाट राख्न यो बैठक जोडदार माग गर्दछ । मुकुमलुङलाई पाथीभरा, फक्ताङलुङलाई कुम्भकर्ण, तिम्बुङ वरकलाई विष्णु पोखरी, कुम्मायकलाई सिद्धदेवी, म्यङलुङलाई सिंहबाहिनी नबनाउन, यस्तो कार्य अविलम्ब बन्द गर्न र लिम्बू भाषाबाट नाम राख्न यो बैठक आग्रह गर्दछ ।

11 आदिवासी जनजाति साथै लिम्बूको पहिचान, इतिहास, संस्कार संस्कृति, भाषा, लिपी लगायतका विषयहरु समेटी पाठ्य सामाग्रीहरु प्रकाशन हुनु पर्छ तर विश्वविद्यालय, स्कूल, लोकसेवा आयोग आदिका केहि पाठ्य सामाग्री, प्रश्न पत्रहरुमा आदिवासी जनजाति र लिम्बू सम्बन्धमा गलत तथ्य, अपमानजनक सन्दर्भ, भ्रममा पार्ने र विभेद गर्र्ने प्रकारका विषय वस्तु समावेश गरिएकोमा आपत्ति प्रकट गर्दै यो बैठक यस्ता पाठ्य सामाग्रि अविलम्ब नष्ट गर्न र यस्ता गम्भिर गल्ति नदोहोर्याउन लेखक, प्रकाशन गृह र सम्बन्धीत पक्षहरुमा यो बैठक सचेत गराउछ । साथै त्यस्ता सामाग्री प्रकाशन गर्न अघि सम्बन्धित समुदायसँग पुर्व स्वीकृति लिएर मात्र छाप्न यो बैठक आग्रह गर्दछ ।

12 प्रदेश नं १ को सरकारी कामकाजी भाषाको रुपमा लिम्बू भाषा तथा किरात सिरिजंगा लिपिलाई प्रयोग गर्न गराउन प्रदेश सरकार र स्थानीय निकायहरुसंग यो बैठक जोडदार माग गर्दछ ।

13 गोरखा पत्रको प्रकाशनगृह बढाउने नाममा नेपाली भाषा राष्ट्रिय भाषा र आदिवासी जनजाति, मैथली, अवधीले वोल्ने भाषा क्षेत्रीय भाषामा परिणत गर्ने षडयन्त्र भएको ठहर गर्दै सवै प्रकाशनगृहबाट प्रकाशन हुने गोरखा पत्रमा उक्त भाषाहरुलाई यथावत राख्न र पेज बढाउन यो बैठक जोडदार माग गर्दछ ।

14 किरात याक्थुङ चुम्लुङको केन्द्र आत्मनिर्भर अक्षय कोष निर्माणको लागि संस्थाका सवै तहका समितिहरु सकृय भई सफल बनाउन र सवै सहयोगी महानुभावहरुमा यो बैठक अनुरोध गर्दछ ।

15 कियाचुले थरगत थुमगतसंस्था र लिम्बूजन्य संगठनहरुसंग संस्थागत समन्वय गर्दै प्रत्येक वडा, गाउँ, नगर जिल्ला, प्रदेश समितिले लिम्बूको घरधुरी, जनसंख्या, थर, मिङस्रा, शिक्षा, रोजगारीको अवस्था संकलन गर्ने गराउने यो बैठक प्रतिवद्धता गर्दछ ।

16 सरकारी कामकाज लिम्बू भाषामा घोषणा, साम्जिक निशाम हिममा लिम्बू भाषा शिक्षकका लागि दरवन्दी प्रदान गर्ने माङसेवुङ गाउँ पालिका वडा नं. ५, कक्फेक्वा तङनामलाई विदा घोषणा गर्ने स्थानीय निकाय रोङ गाउँ पालिका र माङसेबुङ गाउँ पालिका वडा नं. ५ लाई यो बैठक धन्यवाद प्रस्ताव पारित गर्दछ ।

17 लिम्बू आदिवासीको साँस्कृतिक ऐतिहासिक स्थलहरु र समाधिस्थलहरु विकासको नाममा विनास गर्ने र पर्यटन प्रबद्र्धनको नाममा अतिक्रमण गर्ने काम भइरहेकोले सास्कृतिक ऐतिहासिक स्थलहरु अतिक्रमण नगर्न नगराउन यो बैठक अनुरोध गर्दछ ।

18 संघ, प्रदेश र स्थानीय निकायमा बनिरहेका ऐन कानुन, नियम, नीति निर्देशिकाहरुमा आदिवासी जनजातिहरुको हक र अधिकारहरु सुनिश्चित हुने गरी निर्माण गर्न गराउन संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधीहरुमा यो बैठक अपिल गर्दछ । साथै यसमा सरोकार राख्न संगठन पंक्ति र समुदायलाई यो बैठक अनुरोध गर्दछ ।

19 “गाउँ गाउँमा चुम्लुङ, घर गाउँमा चुम्लुङ” नारालाई अघि सार्दै गाउँ घरमा संगठन विस्तार गर्न यो बैठक प्रतिवद्धता व्यक्त गर्दछ ।

20 धन्यवाद प्रस्ताव—कियाचुको चौथो केन्द्रीय समितिको बैठक तथा २४ औ साधारण सभा कियाचु ललितपुरले व्यवस्थापन गरेकोमा यो बैठक किरात याक्थुङ चुम्लुङ ललितपुरको सफल व्यवस्थापनका लागि धन्यवाद प्रस्ताव पारित गर्दछ ।