2020-09-17

मिति २०७७।०४।०९ मुक्कुमलुङ नामाकरण र चेपाङ ज्यादती विरुद्ध विज्ञप्ति

मिति २०७७।०४।०९ मुक्कुमलुङ नामाकरण र चेपाङ ज्यादती विरुद्ध विज्ञप्ति

आज मिति २०७७।०४।०९ गते किरात याक्थुङ चुम्लुङ केन्द्रीय सचिवालयको बैठक बसी मुक्कुमलुङ आन्दोलन र चेपाङ वस्ती माथिको ज्यादती विरुद्ध विज्ञप्ति जारी गर्ने निर्णय भए अनुसार यो विज्ञप्ति जारी गरिएको छ । क) आदिवासी लिम्बुहरुको मुन्धुमीस्थल ताप्लेजुङ अवस्थित “मुक्कुमलुङ”को नामाकरणलाई स्थापित गराउन भइरहेको आन्दोलनको सन्दर्भमा संघर्ष समितिले गुरुयोजनाको कामहरु रोक्न विधिवत्रुपमा गरेको अनुरोधलाई सुनुवाई नगर्ने, आदिवासीहरुको स्वतन्त्र पूर्व सुसूचित सहमति (एफपिक) अधिकारको वेवास्ता गर्ने, स्थानीय प्रहरी प्रशासन लगाएर आन्दोलनकारीहरु माथि शक्ति प्रयोगको अभ्यास गर्ने आदि कार्यहरुको हामी घोर विरोध गर्दछौं । साथै संघर्ष समितिले गरेका प्रतिरोध गतिविधिहरुको प्रंशसा गर्दै सम्बन्धित स्थानीय अधिकारवाला लिम्बु थरगत (सयङ) संस्थाहरु, लिम्बुजन्य संस्थाहरु, स्थानीय सरोकारवालाहरु, तुतुतुम्याङहरु, बुद्धिजीविहरु, राजनीतिक दलहरु,जनप्रतिनिधिहरु, मानवअधिकारकर्मीहरु, न्यायप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरुमा यो न्याय र समानताको आन्दोलन प्रति सहयोग, समन्वय, समर्थन र सहभागिताको लागि हार्दिक अपील गर्दछौं ।

ख) चितवनको माडी नगरपालिका ९, कुसुमखोलामा बसोबास गर्दै आएका चेपाङ समुदायको घरहरुमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएका टोलीले निकुञ्जको जग्गा खाली गर्ने भन्दै दुइवटा घरमा आगजनी गर्नुको साथै आठवटा घरहरुमा हात्ती लगाएर भत्काइएको तथा राप्ती नगरपालिका २ का २४ वर्षीय राजकुमार चेपाङको निकुञ्जमा खटिएका नेपाली सेनाले २०७७ साउन १ गते नियन्त्रणमा लिई कुटपीट गरी यातना दिई निजको मृत्यु भएको भनिएका घटनाहरु प्रति लिम्बु आदिवासीहरुको संगठन किरात याक्थुङ चुम्लुङको गम्भीर ध्यानाकर्षण भएको छ । यी अमानवीय र संवेदनहीन हर्कतहरुको घोर भत्र्सना गर्दै, विस्थापित तुल्याइएका व्यक्तिहरुको उचित बासको लागि तत्कालै वैकल्पिक व्यवस्था गरी आवासको हक सुनिश्चित गर्न, चेपाङ आदिवासीले आफनो भूमिमा सम्मानपूर्वक बस्न र बाँच्न पाउने अधिकारलाई कार्यरुप दिन, मृतक राजकुमार चेपाङको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीहरु उपर कडा कारबाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।

योगराज लिम्बू वनेम

अध्यक्ष, केन्द्रीय कार्य समिति