2021-06-04

लिम्बु भाषाको सञ्चार, सरकारी कामकाज, साहित्यको संक्षिप्त अवस्था

By Amar Tumyahang Academician BS 2078 Jestha

पृष्ठभूमि

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांंस्कृतिक (नेपालको संविधान, २०७२ को प्रस्तावना) विशेषतायुक्त राष्ट्र हो । नेपालमा बोलिने १२३ भाषाहरूमध्ये लिम्बू भाषा पनि एक हो । लिम्बू भाषा विभिन्न विधामा साहित्यिक रचना सिर्जना भएको र लेख्यपरम्पराको लामो इतिहास बोकेको भाषा हो । किरात सिरिजङ्गा लिपिमा लेखन पद्दतिसमेत विकास भइसकेको यस भाषाको प्रयोग अरूण र सप्तकोशी पूर्व– लिम्बूहरूको पुख्र्यौली भू–खण्ड लिम्बुवानमा हुन्छ । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा लिम्बूहरूको जनसङ्ख्या ३,८७,३०० मध्ये लिम्बू मातृभाषा बोल्नेहरूको जनसङ्ख्या ३,४३,६०३ (८८.७२%) रहेको छ ।

उता भारतको सिक्किम राज्यमा भने सन् १९६८ मा लिम्बू भाषाको पठनपाठन आरम्भ भई सन् २०१८ सम्ममा स्नातकोत्तर तहसम्म पूरा भइसकेको छ । नेपालमा भने लेखन पद्धती र बहुसङ्ख्यक मातृभाषीहरू हुँदाहुँदै पनि लिम्बू भाषाको विकास हुन नसकेको अवस्था छ । भाषा विकासको मापन प्रयोगको व्यापकतामा निर्भर हुन्छ । परिवार र समुदायमा सीमित रहेको प्रयोगको वर्तमान अवस्थालाई भाषाको विकास मान्न सकिँदैन । प्रयोगकर्ताको आवश्यकता समुदायको तहबाट मात्र पूरा हुने कुनै समय थियो, तर अहिले व्यक्ति र समुदायको अन्तरक्रियात्मक क्षेत्रहरू व्यापक हुँदै गइरहेको अवस्था विकसित भएको छ । वर्तमान सन्दर्भमा सञ्चार, साहित्य र सरकारी कामकाजमा लिम्बू भाषाको प्रयोगको अवसर, पहुँच र नियन्त्रणको अवस्था निम्नअनुसार रहेको छ ।

सञ्चार

व्यक्तिगत तथा सङ्गठित तहमा लिम्बू भाषाको पत्रकारिता २०४७ सालदेखि बढी फस्टाउन थाल्यो । लिम्बू भाषाको पत्रकारितालाई मुद्रणमाध्यमको पत्रकारिता, प्रसारण माध्यमको पत्रकारिता र इलेक्ट्रोनिक माध्यमको पत्रकारितामा चालिआएको देखिन्छ । मुद्रणमाध्यमको लिम्बू पत्रकारिता अन्तर्गत सन् १९६७ मा विरही काइँलाले प्रकाशित गरेको ‘कोम’ नामको हस्तलिखित पत्रिकालाई लिम्बू भाषाको पहिलो पत्रिका मानिन्छ । यसरी नै वि.सं. २०२६ मा आसमान सुब्बाको सम्पादकत्वमा काठामाडौँबाट प्रकाशित ‘सकइङघङ’, सन् १९७२ देखि दार्जिलिङबाट पुष्प थाम्सुहाङले निकालेको ‘सिरिजङ्गा’, सन् १९७४ मा बीबी मुरिङला र चन्द्र माङयुङले निकाल्लेको ‘तुमदुमदो. हेना’, वि.सं. २०३० देखि रणबहादुर मेयाङबो र देवेन्द्र कन्दङवाले सम्पादन गरेको ‘थोक्ला’ हुँदै लिम्बू पत्रकारिताको विकासक्रम अगाडि बढेको छ । सिरिजङ्गा (वि.सं. २०५१), याक्थुङ साप्सक नु साक्थिम (२०५१), सुम्हात्लुङ (वि.सं. २०५६), लाम (वि.सं. २०५७), सेहोनाम्लाङ (२०५७), लराङसेरी (२०५७), किरात चेली (वि.सं. २०५८), चुम्लुङ बुलेटिन (वि.सं. २०५९), सेमी फक्ताङलुङ (वि.सं. २०६०), फुङ (का. जि.प्र.का. द.नं. ११९÷०६१÷०६२), याक्थुङवा, थाङसाङ, हिन्जा, मुन्धुम, तङसिङ, लुङा, मुदिङ् (२०६६ देखि), काराङ्वा (२०७३ देखि) आदि पत्रिका नेपालबाट प्रकाशित पत्रिकाहरू हुन् भने सेक्मारी÷सेक्मुरी (कियाचु हङकङ) हङकङबाट प्रकाशित लिम्बू पत्रिका हो ।

यसै क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गर्ने गरेको फक्ताङलुङ र गोरखापत्र नयाँ नेपाल पृष्ठले प्रकाशन गर्ने लिम्बू भाषा पृष्ठ पनि पर्दछन् । यी दुवै पत्रिका सरकारी क्षेत्रबाट लिम्बू भाषा साहित्य र पत्रकारिताको विकास गर्न प्रकाशन गरिएका पत्रिका हुन् । ३ अप्रिल १९८३ देखि आकाशवाणीको गान्तोक केन्द्रले हप्तामा दुई पटक लिम्बू भाषामा कार्यक्रम प्रसारण गर्न थालेपछि औपचारिक रूपमा लिम्बू भाषामा प्रसारण माध्यमको लिम्बू पत्रकारिता आरम्भ भयो । वि.सं. २०५१ साल भदौ गतेदेखि रेडियो नेपाल सिंहदरवारबाट दैनिक समाचार प्रसारण हुन थालेपछि नेपालमा पनि यसका औपचारिक आरम्भ भएको हो । रेडियो नेपाल सिंहदरवारबाट समाचार प्रसारणको क्रम २०५३ साल चैत्र १९ गतेसम्म कायम रहेको थियो ।

त्यसपछि लिम्बू भाषाको सो कार्यक्रम रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटाबाट २०५३ साल चैत्र २० गतेदेखि प्रसार हुन थाल्यो तर समाचारमात्र प्रसारण हुँदै आएको थियो । २०५४ साल असार पहिलो हप्ताको विहिबारदेखि ‘नुनाम्फुङ’ नामक मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुदै आएको छ । २०५९ साल असार ७ गतेदेखि किरात याक्थुङ चुम्लुङले काठमाडौं उपत्यकामा एचवीसी एफएम र असार १८ गते मङ्गलबारदेखि लिम्बुवानको इटहरीमा सप्तकोशी एफएमबाट लिम्बू भाषाको कार्यक्रम प्रसारण गरिहेको छ । हाल तमोर एफ.एम., ताप्लेजुङ, सुम्हाःलुङ एफ.एम., पान्थर, इलाम एफ.एम., इलाम, नेपालवाणी एफ.एम., इलाम, सप्तरङ्गी एफ.एम., दमक झापा, रेडियो मेन्छ्यायेम एफ.एम., तेह्रथुम, बि.एफ.एम., बिराटनगर र गोर्खा एफ.एम. काठमाडौँबाट लिम्बू भाषाका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यसरी सञ्चालन भएका लिम्बू भाषाका कार्यक्रमहरूले सूचना, मनोरञ्जन, ज्ञानमूलक आदि विषयहरू समेटेर कार्यक्रम प्रसारण गर्दै आएका छन् । नेपाल टेलिभिजन, एन्.टी.भी. टु, इन्डिजिनस टिभीबाट आनी साक्थिम, तुम्दङजस्ता कार्यक्रमहरू प्रसारण हुँदै आएका छन् ।

इलेक्ट्रोनिक माध्यमको पत्रकारिता अन्तर्गत वि.सं. २०५९ साल भदौ २६ गतेदेखि किरात याक्थुङ चुम्लुङले चुम्लुङसँग सम्बन्धित मूलतः समाचार सम्प्रेषणका लागि धधध।अजगmगिलन।यचन।लउ नामक वेभसाइट तयार गरी वरिष्ठ लिम्बू साहित्यकार पदमसिंह मुरिङलाबाट उद्घाटन गराइएको घटनालाई इ–पत्रकारितको औपचारिक शुरुवात मानिन्छ । यसका साथै विभिन्न मुलुकमा सङ्गठित किरात याक्थुङ चुम्लुङहरूले आआफ्नो वेबसाइटहरू, वेब पोर्टलहरू सञ्चालन गरिआएको छन् ।

सरकारी कामकाज

नेपाल अधिराज्यको संविधान २०४७ को धारा ६(२) ले “नेपालका विभिन्न भागमा मातृभाषाका रूपमा बोलिने सबै भाषाहरू नेपालका राष्ट्रिय भाषा हुन” भनेर मान्यता दिए तापनि देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने भन्ने धारा ६(१) ले व्यवस्था गरेको थियो । यही व्यवस्थाको आधारमा काठमाडौँ महानगरपालिकाद्वारा नेपालभाषा र राजविराज नगरपालिका तथा धनुषा जिल्ला विकास समितिद्वारा मैथिलीलाई नेपाली भाषासँगसँगै आ–आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्न खोजिँदा २०५६ जेठ १८ गते सर्वोच्च अदालनको डिभिजन बेञ्चले “मातृभाषा प्रयोग नगर्नु नगराउनु” भन्ने आदेशात्मक फैसला ग¥यो । सर्वोच्च अदालतको यस फैसलाबाट स्थानीय तहमा मातृभाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने मातृभाषीहरूको चाहनालाई कुठाराघात गर्ने काम भयो । परिणामतः लिम्बू भाषालगायत सम्पूर्ण मातृभाषाहरू सरकारी कामकाजमा प्रयोग हुनबाट वञ्चित हुन पुगे ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५(१) ले “नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्र भाषा हुने” भनी उल्लेख गरेको थियो । तर धारा ५(२) ले देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने संवैधानिक व्यवस्था गरेको भए तापनि धाारा ५(३) ले स्थानीय निकाय तथा कार्यालयमा मातृभाषा प्रयोगलाई कुनै बाधा पु¥याएको मानिने छैन भनी उल्लेख गरेको थियो । त्यसरी प्रयोग गरिएको भाषालाई राज्यले सरकारी कामकाजको भाषामा रूपान्तर गरी अभिलेख राख्नेछ भनी उल्लेख गरेको थियो । त्यसैगरी तीन वर्षीय अन्तरिम योजना (२०६४÷६५ – २०६६÷६७) ले “लेख्य परम्परा भएका भाषाहरूको माध्यमबाट पठनपाठन तथा सरकारी कामकाज तथा अदालतमा सबै मातृभाषामा बयान दिन पाउने व्यवस्था गरिनेछ’ भन्ने नीति तथा कार्यनीति तर्जुमा गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०६५÷६६ को नीति तथा कार्यक्रमले स्थानीय निकायमा स्थानीय स्तरको मातृभाषामा समेत कामकाज गर्न सकिने व्यवस्था मिलाउनेछ भनेको छ ।

दोस्रो संविधानसभाबाट निर्माण भई जारी भएको नेपालको संविधान, २०७२ को धारा ६ ले “नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्र भाषा हुन्” भनेको छ । तर धारा ५ ले “देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ” भन्ने संवैधानिक व्यवस्था गरेर खस नेपाली बाहेकको अन्य राष्ट्रभाषाहरूलाई पूर्ववत एकात्मक संविधानहरूजस्तै विभेद गरेको छ । संविधान कै धारा ७ (२) मा “नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ” भनी अधिकार प्रत्यायोजन गरेको छ ।

प्रदेश नं. १ को भाषिक अवस्थालाई हेर्दा खस नेपाली भाषा पहिलो स्थानमा पर्दछ भने मैथिली दोश्रो र लिम्बू भाषा तेस्रो स्थानमा पर्दछ । यो प्रदेशमा अन्य र नखुलेको गरी जम्मा ९७ वटा भाषा बोलिन्छ । १ नं. प्रदेशको १४ जिल्लामा लिम्बू भाषीहरू बसोबास गर्दछन् । तर लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा आजसम्म औपचारिक प्रयोगमा ल्याइएको अवस्था छैन । लिम्बू भाषाको प्रयोग गर्ने अवसर तुलनात्मक रूपमा शिक्षा र सञ्चारको क्षेत्रमा सरकारी कामकाजमा भन्दा बढी देखिन्छ । मातृभाषालाई समेत स्थानीय निकायमा सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्न सकिने अवसर अपेक्षा गरे अनुरूप भने छैन । तथापि यसलाई मातृभाषाको प्रयोग सरकारी निकायमा गर्न सकिने अवसरको रूपमा लिन सकिन्छ ।

साहित्य

लिम्बू साहित्यको सबै विधामा साहित्य सिर्जना भएको पाइन्छ । तर लिम्बूभाषा साहित्यमा सबैभन्दा फस्टाएको विधा काव्य हो । लिम्बू साहित्यको क्षेत्रगत विकास निम्नअनुसार भएको देखिन्छ (यस विवरणमा भारतमा लेखिएका साहित्यिक कृतिहरूको विवरण समावेश गरिएको छैन) ।

(क) काव्यसङ्ग्रह

कविता काव्य प्रकाशित गर्ने कविहरूमा डिल्ली लिङदम (मना चइःत्हा?), अमर तुम्याहाङ (सेवारो, वालकविता सङ्ग्रह, २०५८), सेसेहाङ फियाक (तोलिङ्सोमुबा आसाम्मिलाहा?, सं. २०६० र इक्सासाम्दाङ्बा फुङ्हा?, सं. २०६१), तोङ्सा नेयोङ (फुङ्काप्ला, सं. २०६१), टङ्क वनेम (पेÞन्जिरि पेÞन्मिक्खा?, सं. २०६२), उत्तर कुमार यङ्हाङ (याक्थुङ साम्लो, सं. २०६२), लाओती येहाङ (लाओती येहाङलेÞन् नुबो्ङ् साम्मिलाहा?), दिलेन्द्र सुभा कुरुम्बाङ (आहिम्मिन्, सं.२०६३), भवानी तावा (लाबे पम्बम्, वालकविता सङ्ग्रह, २०६६, नान्दिम्भेयो सेÞप्माङ्हा?, २०६७), थाम्सुहाङ पुष्प सुब्बा (सेÞप्माङ्बा फुङ, २०६९) पुष्पहाङ लोवा (तङ्अम्भुङ २०६७, तो?योक्खा? २०६४ र याग्राङसिङ २०७३), राज माङलाक (येÞम्रेÞ कुनाराहा?, २०६७), राधिका हुक्पा चङ्बाङ नाम्फुङ (थःप्पारा, २०७३÷२०१६), यासेली यङ्हाङ (यासेली यङ्हाङरेÞन् याक्थुङ साम्लोहा?, २०७३), भीमा खजुम मुसुम (नियारा, २०६७, २०७७) आदि छन् ।

(ख) खण्डकाव्य

खण्डकाव्य प्रकाशित गर्ने कविहरूमा सुब्बा खड्ग नेम्बाङ (किरात मिक्हन साम्लो, सं. २०१२), वीर नेम्बाङ (सेम्मुइ, ई. १९८६), पुष्प थाम्सुहाङ (इत्निहा?, सं. २०५७), विरही काइँला (केसामी – नाम्सामी, ई. १९८७), सेसेमी नाल्बो (सोबुहाङ्मा, सं. २०५६), हरि चङ्बाङ सेन्छेन्हाङ (थक्लारे ताराप्पो तगि पोमेल्ले), नरबहादुर यङयाङ (पालाम, सं. २०५२, बलिहाङ तङ्नाम, सं. २०५३), सेर्मा साम्जिरी सेमी (तङ्मेरेÞ केÞप्तुबा लिम्बुवान, २०७४) आदि रहेका छन् ।

(ग) महाकाव्य

लिम्बू भाषामा प्रकाशित महाकाव्य अमर तुम्याहाङको सोधुङ्गेन् इमानसिंह चोत्लु (सं. २०६०), थाम्सुहाङ पुष्प सुब्बाको मक्खिवाफुङ (सं. २०६७), सिक्कुम्दाङ याक्थुङको मुक्कुम्भुङ (सं. २०७४) रहेको छ ।

(घ) कथा सङ्ग्रह

काजीमान कन्दङ्वाको पाङ्खरे योबाआङ येरा, सं. २०१८), ९ जना लेखकहरूको संयुक्त कथा सङ्ग्रह फाङसेसे खेदाहा? (सं. २०६२), सेसेहाङ फियाकको रुमेरे कुसेप्माङ (सं. २०६१), राजभक्त चेम्जङ र डिल्ली लिङ्दमको संयुक्त कथासङ्ग्रह मिक्तोक (सं. २०६२), क्षितिज सुब्बाको वाजाहाङ नु योनाहाङ (२०६६), मुन–नाको मत्चिबुङ (सं. २०७६) जस्ता कथाहरू लिम्बू भाषामा प्रकाशित रहेका छन् ।

(ङ) उपन्यास

लिम्बूभाषामा प्रकाशित पहिलो उपन्यास पदमसिंह मुरिङ्लाको थत्थामा (ई. १९८३) हो । पछिल्लो समयमा प्रकाशित उपन्यास उत्तम कुमार यङयाङ लोजी (वि. सं. २०६२), थाम्सुहाङ पुष्प सुब्बाको सेÞन्दिपेसाप् (२०६८), नवल फाइबालीको नानु? खदेÞम् (सं. २०६९), मलिसा याक्थुङ्बाको फुङ नेÞप्फाङ वे?वे? सेÞप्माङ (२०७४) रहेका छ । यसरी नै थाकुहाङ मेरिङका निङ्गेङ सिगाङ्बा सेÞप्माङहा? (सं. २०६०), नाम्भेÞराबा ताक्पेÞन् (सं. २०६३), मेÞनु (सं. २०६४), कोयेÞम्बा हिङ्मन् (२०६५) उपन्यासहरु पनि प्रकाशनमा रहेका छन् ।

(च) निबन्ध सङ्ग्रह

एसआर खजुमकृत सुम इत्छाप (सन् १९९५) बाट लिम्बू निबन्ध कृति प्रकाशन आरम्भ भएको थियो । उत्तरकुमार यङहाङको तङहुप्ला सुङ (वि.सं. २०६२), निशेष आङ्देम्बेको हाङयुक्ना पाङ्यक (सं. २०६८), अमर तुम्याहाङद्वारा सम्पादित तथा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित याक्थुङ सुम्जो (वि.सं. २०६९) आदि प्रकाशित छन् ।

गजल सङ्ग्रह

प्रेमदीप थाम्सुहाङ (सुक्कुम, सं. २०६१), निशेष आङ्देम्बे (थाङ्बेन, सं.२०६२), मधु आजित केरुङ (साम्म्याङ फुङ, २०७२) जस्ता गजल कृतिहरू लिम्बू भाषामा प्रकाशित भई पाठकहरू समक्ष पुगि सकेका छन् । यसरी नै उत्तम कुमार यङयाङको नाटक कृति सेप्माङले कुसेप्माङ (सं. २०६२), मलिसा याक्थुङ्बाको याक्थुङ थिक्खानिन्ना सुम (२०७४) प्रकाशित रहेको छ भने धेरै नाटकहरू फुटकर नाटकका रूपमा विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् ।