2021-06-08

यक्वा तङनाम २०७८ लुङमेन्दीङ शुभकामना आदानप्रदान

मिति २०७८ जेठ १२ गते ललितपुर । सदाका वर्षहरुमा झै हामी आदिवासी लिम्बूहरुले मनाउँदै आइरहेको, यस वर्ष आज मिति २०७८ साल जेठ १२ गते पर्ने “यक्वा तङनाम २०७८”को शुभअवसरमा देशविदेशमा रहनुभएका लिम्बु लगायत सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा किरात याक्थुङ चुम्लुङ नेपालले लुङमेन्दीङ(हार्दिक) शुभकामना व्यक्त गरेको छ ।

किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्य समितिका अध्यक्ष योगराज लिम्बू वनेमबाट हस्ताक्षर गरी जारी गरिएको शुभकामना विज्ञप्तिमा कोरोना विश्वमहामारी (कोभिड १९)को दोश्रोरुपबाट यो समय हामी फेरि आक्रान्तछौं । यसबाट बच्न हाम्रा दैनिकीहरु अझ पनि बन्दाबन्दीको रुपमा गुज्रिरहेको अवस्था छ । रोग संक्रमणबाट जोगिनको लागि अपनाएको यो बन्दाबन्दीको अवस्थाले हामीलाई सामाजिक सांस्कृतिक गतिविधिहरु सहजढंगले गर्न गराउन नदिएको परिस्थिति सबैलाई सर्वविदितै छ । स्वास्थ्य मापदण्डहरु अपनाऔं, सुरक्षित रहौं, आफु बाचौं र अरुलाई पनि बचाऔं । आआफनो टोल, समुदायस्तरमा रहेका स्वास्थ्य संस्था एवम् सेवाहरु साथै संगठीत प्रयासहरुको सम्पर्क, समन्वयमा रहौं र सहयोग गरौं भनी अपील समेत गरिएको छ । photo source : himal logical blog

यही अवसरमा किरात समन्वय समिति कोटेश्वर, काठमाडौंको तर्फबाट मिति २०७८÷०२÷०२ सम्पूर्ण किराती दाजुभाइदिदीबहिनीहरुमा हार्दिक शुभकामना दिदै संयुक्त शुभकामना विज्ञप्ति जारी गरेको थियो । उक्त शुभकामनामा ‘किरात चाड (उँभौली साकेला, याक्वा तङनाम, युच्याङ, शाँदार पिदार, भूम्या लगायत) लाई विश्व महामारी कोभिड १९ को विषम् परिस्थितिले भव्यरुपमा माङहिम (मन्दिर) मा गएर चाड मनाउन नसकिने भएको हुँदा यस वर्ष घरघरमै बसेर मनाउन अनुरोध गर्दै सबै किराती दाजुभाइ दिदीबहिनीहरुको सु–स्वास्थ्य, शान्ति, समृद्धिको कामना गरिएको छ । उक्त शुभकामना विज्ञप्तिमा दिवस राई अध्यक्ष किरात राई यायोक्खा केन्द्रिय समिति, योगराज लिम्बु अध्यक्ष किरात याक्थुङ चुम्लुङ केन्द्रीय समति, लिल बहादुर रोगु अध्यक्ष किरात याक्खा छुम्मा केन्द्रीय कार्यसमिति, रणवीर सुनुवार अध्यक्ष सुनुवार सेवा समाज संघीय समिति, सुखवीर थामी अध्यक्ष नेपाल थामी समाज केन्द्रीय कार्यसमिति, सुखवीर थामी अध्यक्ष नेपाल थामी समाज केन्द्रीय समिति, टहलबहादुर जिरेल अध्यक्ष जिरेल संघ नेपाल केन्द्रीय समिति, धनबहादुर हायु अध्यक्ष किरात हायु समाज केन्द्रीय समिति र सुवास सुरेल अध्यक्ष सुरेल जाति उत्थान समाज केन्द्रीय समिति गरी ८ केन्द्रीय अध्यक्षहरुले हस्ताक्षर गर्नुभएको छ ।